प्रेम के के हो ?
प्रेम त्यो चीज हो जुन जराले सिँगो रुखलाई गर्छ । प्रेम त्यो चीज हो जुन
गुँडले चरालाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राती
सुम्सुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम । सस्याना स्कूले केटाकेटीहरुले
किताबको खोल नच्यातियोस् भनेर गाता हालेर किताबको जतन गर्न खोज्नु प्रेम
हो ।
कति प्रेम गर्छ खोलाले
समुद्रलाई ? हजारौँ माइल दौडँदै, बाटोमा आइपर्ने व्यवधानहरुलाई पन्छाउँदै,
जसरी पनि पुगेरै छाड्छ भेट्नलाई । प्रेम त्यो हो, जो एउटा लेखकले आफ्ना
किताबका अक्षरसँग गर्छ । प्रेम त्यो हो जो गायकले आफ्नो स्वरसँग गर्छ ।
प्रेम त्यो हो जो संगीतकारले आफ्नो धुनसँग गर्छ । त्योपनि प्रेम नै हो, जो
किसानले आफ्नो हलोसँग गर्छ ।
प्रेम खोलाले गर्छ हिमालमा परेको हिउँलाई
। त्यसैले त सालैभरि आफू रुख्खिएर कुनै दिन त पग्लेला भनेर कुरी बस्छ ।
प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको
हुन्छ, जबसम्म तिमी छौ, म बलिरहन्छु । पानीले हरेक बालीलाई भनिरहेको
हुन्छ, तँ सक्दो फल्नु है, म सकेसम्म तेरो जरा जरामा पुगिदिन्छु ।
हामी
कहाँ कहाँ खोज्छौँ प्रेम ? कुन दुनियामा होला र प्रेम ? प्रेम त प्रकृतीमै
छ । हाम्रै वरिपरि । माटोमा, फूलमा, हावामा, पातमा, घरमा, घाममा, सीतमा
अनि हजारौ गुनगुनाइने गीतमा । हेरौँ त हरेक अनुहारमा छ प्रेम । हरेक
मान्छेको मधुर मुस्कानमा छ । कानका गहना बेचेर बुच्चै पारिदिएर कतार उडेका
आफ्नो लोग्ने सम्झँदै रातदिन आँशु बगाउने भाउजुको एक थोपा आँशु औँलामा
राखेर हेर्नुस् त कति प्रेम छ त्यहाँ ? अनि तिनै दाइका कहिल्यै पोष्ट नहुने
चिठीहरुमा कति पोखेका छन् उनले प्रेम ।
आकाशमा लाखौँ ताराहरु छन् ।
कसैले कसैलाई नछोएरै पनि टिलिक्क टल्किरहेका छन् । आआफ्नो ठाउँ लिएर, न
साँध, न सिमाना, न संवाद न विवाद ।
धरती र आकाशपनि, जसले एक अर्कालाई
हेरेरैमात्र सदियौँ काटिसके । उनीहरुमा पनि त छ प्रेम । अनि गुलाफको बोटमा
काँडा र फूलको प्रेम । फूलको सुरक्षा दिन काँडा सधैँ लागिरहन्छ । अनि
हेर्नुस् खोला र बादलको सम्बन्ध । बादल जहिल्यैपनि चुहिन्छ त खोलाको काखमा
गएर मिसिन अनि खोला जसलाई अरु बादलहरुको प्रेमले तानेर उडिजान्छ घामसँग
मद्दत मागेर ।
प्रेम त मेरा हजुरबुवाले गर्नुहुन्छ, चालीस वर्ष अगाडी
मरेकी हजुरआमालाई सम्झेर हरेक दिन भित्तामा टाँसिएको बडेमानको फोटो हेर्दै
चाउरी परेका अनुहारमा मुस्कान ल्याएर ।
प्रेम मेरी सानी बहिनीले गर्छे हरेक दिन पप्पी नाउँको कुकुरलाई सुम्सुम्याएर ।
मेरी आमाले पनि बुवालाई प्रेम गर्छिन् । हरेक बिहान ड्रेसिङ्ग टेबल अगाडी उभिएर सिउँदोमा लामो सिँउँदोको धर्सो कोरेर ।
मेरो साथीले पनि खूब गरेको छ प्रेम आफ्नी प्रेमिकालाई, पाखुरामा उसको नाउँको टाटु खोपाएर ।
हामी सबै यहि प्रकृतीका अंश हौँ । प्रकृतीमा भएका साना भन्दा साना चीजले
हामीलाई प्रेम गर्न सिकाउँछ, तैपनि हामीलाई यै प्रेम भन्ने चीजले किन
दुखाउँछ ? यति बिस्तार भएको प्रेमलाई एकजनामा मात्र ल्याएर किन
खुम्च्याउँछौँ ? सप्पै थोकलाई प्रेम गरौँ । प्रेम बाँडौँ । फैलाएरै फैलिने
चीज हो प्रेम । बाँडेरै धेरै हुने हो चीज प्रेम !
No comments:
Post a Comment